Thursday, September 29, 2011






शरदसँगै आयो दशैं, आउँदिन म आमा !
दुर्गा सप्तसती पनि, गाउँदिन म आमा !!

रंग्याउँदै होलान् घर, गाउँमा वारिपारि !
चुहिने छानो यस वर्ष, छाउँदिन म आमा !!

बाटो हेर्दै आउने आशमा, नबसेकै जाति !
पोहोरजस्तो अहिले बिदा, पाउँदिन म आमा !!

दोबाटोमा लिंगे पिङ, हाल्न खोज्दै होलान !
साथीसँगै बाँस काट्न, धाउँदिन म आमा !!

परदेशीलाई केको दशैं, सधैं दुःख उस्तै !
दशमीमा टीका पनि, लाउँदिन म आमा !!

Saturday, September 10, 2011

टुक्रिएका सपनाहरु छरेर बाँचेँ
जिउने बहानामा पलपल मरेर बाँचेँ

दुई दिन भए पनि फूल फुल्छ हाँसेर
नफक्रिँदै कोपिलामै झरेर बाँचेँ

यात्रा भन्छन् जीन्दगीलाई मानिसहरु
खोला, नदी जँघार पनि तरेर बाँचेँ

कहाँ पुग्दो रहेछ र मनले खोजे जति
इच्छा अनि रहरका बसाईंहरु सरेर बाँचेँ

कति गर्नु गुनासो यो जिन्दगीसित
चुनौतीहरु सामना गर्ने अठोट गरेर बाँचेँ ।
(Rabin)

Friday, September 9, 2011

मेघ गर्जन अघि
आमा तिम्रो आँखामा
एउटा विप्लवको स्वप्न देख्न पाउँ ।

मैले हृदयमा केही पनि राखेको छुइन ।

बस, यौटा विप्लवको कविता
मेघ गर्जन अघि मेरा
खेतला मित्रहरूलाई सुनाउँन पाउँ।

वैसाखी घामले पट- पटी फुटेको खेत
असारको मेघ गर्जन अघि
मेरा किसान भाइहरूले
विप्लवको बिरूवा रोपुन्।

प्रिये अब अन्तिम इच्छा यही छ
मैले जो आफ्नो भने
आज पो थाहा भयो
यो त सब संसारको रहेछ
मैले भ्रम पालेर बसेछु।

आउ अब तिम्रो ओंठमा
मेरो ओठले एउटा विप्लवको कविता कोरी राख्छु।
अन्तिम मेघ गर्जन अघि
तिम्रो पसिनाको थोपा- थोपामा
आगोको कथा भनिराख्छु।।
बिहानीमा शित्त थोपा फूलले बोके सरी
मलाई पनि अघाल्नु तिमीले जीवन भरी

मिर्मिरेमा हिउँचुली घामले चुमे सरी
हृदयमा राख्नु मलाई न्यानो माया छरी

गोधुलिमा क्षितिजपारी सगर् डढे सरी
सजाइराख्नु सदा मलाई सोह्रशृंगार गरी

फूलको रसमा महुरीले मह काडे सरी
मिठास भर्छु यो नातामा जुनी जुनी भरी

झरनामा हिउँ पग्ली कंचन बगे सरी
माया साच्छु तिम्रै नामको मनमुटु भरी

सिम्सिमेमा प्वांख फिजाई मयूर नाचे सरी
सजाउनेछु हाम्रो संसार पुष्पबृष्टी गरी

बसन्तमा कोइलिले गुंजन भरे सरी
हाँसीराख्नु प्रिय तिमी सधै यसै गरी

हृदयमा राख्नु मलाई न्यानो माया छरी
माया साँची राख्छु तिम्रै नाम मनमुटु भरी
(Rachana)
तिमीसँगै जीन्दगी यो बिताउकी लाग्छ अचेल
तिम्रै मात्रै खुशी भलो चिताउकी लाग्छ अचेल!!

यस्तो पनि हुने रहेछ जीन्दगीको मोड कहिले
आफू हारेर तिमीलाई जिताउकी लाग्छ अचेल!!

हाँसीहाँसी तिमीले मलाई फकाएको सम्झिएर
बिना कारण यसो कहिले रिसाउकी लाग्छ अचेल!!

मेरा हरचिजबिज तिम्रै लागि जस्तो लाग्छन
समर्पित भएर आफूलाई रित्ताउकी लाग्छ अचेल!!
रातको निस्तब्धतामा
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।

ओभाएको तिम्रो शरिरमा
पसिना लतपतिएको चिन्ह
मधुर उज्यालोमा
प्रस्टै देखिन्छ
उसका आयातित
बस्त्रहरू भन्दा पनि
सुन्दर देखिरहेछु म

हावामा फैलिएको
पसिनाको
एकतमासको गन्ध
लट्ठ बनाइरहेको छ मलाई
खै उसका अत्तरहरू
अचेल किन
उति सुवासिला लाग्दैनन् ।

तिम्रो गठिलो शरिर
ठेला उठेका
हत्केला र पाइतालाहरू
जिस्काइरहन्छन्
उसको सुन्दरतालाई
टाढै बाट

ताता स्वासहरू
न्यानो सामिप्यताको
भोक जगाउन
सक्षम छन्
चिमोट्दै उसको
न्यानो आलिङ्गन ।

तिम्रो थकित वय
निस्फिक्रि विस्तारामा
तृप्त छ
ललकार्दै उसका
रातका छटपटिहरू

सन्तुष्टिका रेखाहरू
चम्चम् चम्किरहेकाछन्
तिम्रा निधारमा
खिज्याउँदै उसका, मेरा
अनगिन्ति अतृप्त
भोकहरूलाइ, सपनाहरूलाई ।

उफ् ! यो रात
विहानी कहिले होला ?
दियोको तेल
निख्रदैछ
विस्तारै विस्तारै
तैपनि
एकोहोरो
जलिरहेछ दियो
झलमल झलमल ।।
(prashant)
बल्दैछ मन झन झन, निभाउनु छ, बर्सी दे न झरी ।
सुकिसके नयन, भिजाउनु छ, बर्सी दे न झरी ।

कुहिरोले आज, छोप्यो धर्ती, हराएँ म कतै,
बादलु छ गगन, खुलाउनु छ, बर्सी दे न झरी ।

रापिलो तापिलो, द्वन्द मनको, आन्दोलित छन् अङ्ग,
शितलु जो खोज्छन्, रिझाउनु छ, बर्सी दे न झरी ।

जगै ढल्यो घरको, फुल्नै छाडे, सुवासीला फूल,
शुन्य भयो आँगन, ब्युँताउनु छ, बर्सी दे न झरी ।

खडेरीले छोयो, मरे रहर, आज पालुवामै,
नवैलियोस् "जीवन", जोगाउनु छ, बर्सी दे न झरी ।