Thursday, September 29, 2011






शरदसँगै आयो दशैं, आउँदिन म आमा !
दुर्गा सप्तसती पनि, गाउँदिन म आमा !!

रंग्याउँदै होलान् घर, गाउँमा वारिपारि !
चुहिने छानो यस वर्ष, छाउँदिन म आमा !!

बाटो हेर्दै आउने आशमा, नबसेकै जाति !
पोहोरजस्तो अहिले बिदा, पाउँदिन म आमा !!

दोबाटोमा लिंगे पिङ, हाल्न खोज्दै होलान !
साथीसँगै बाँस काट्न, धाउँदिन म आमा !!

परदेशीलाई केको दशैं, सधैं दुःख उस्तै !
दशमीमा टीका पनि, लाउँदिन म आमा !!

No comments:

Post a Comment